भियतनामकी उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन काठमाडौं आइपुगेकी छिन् । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार यो भियतनामबाट नेपालमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र सुआनबीच काठमाडौँमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । साथै, उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भदौ ९ गते भ्रमण सम्पन्न गरी स्वदेश फर्कने तालिका छ ।