भारतीय बिदेश मन्त्री जयशंकर अर्को साता रूस जाने

मस्को । विश्व राजनीति पछिल्लो समय गम्भीर उथलपुथलको अवधिबाट गुज्रिरहेको छ। रुस–युक्रेन युद्ध, इजरायल–गाजा द्वन्द्व, इजरायल–इरान गतिरोध र भारत–पाकिस्तानबीचको सैन्य झडपले अन्तर्राष्ट्रिय वातावरणलाई जटिल बनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ युद्धले भूराजनीतिक समीकरणहरू थप जटिल बनाउँदै लगेको छ। यस्तो अवस्थामा भारतका विदेशमन्त्री एस जयशंकरको रुस भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ ।

रुसको विदेश मन्त्रालयले सोसल मिडिया प्लेटफर्म एक्समा जानकारी साझा गर्दै भनेको छ, ‘अगस्ट २१ मा, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्नेछन्। जसमा दुई नेताले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय ढाँचाभित्र सहयोगका प्रमुख मुद्दाहरूमा छलफल गर्नेछन्।’

भारतले रुसी तेल खरिद गरेकोमा अमेरिकाले असन्तुष्टि व्यक्त गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै भारतलाई ५० प्रतिशत कर लगाउने घोषणा गरे पछि दुई देशबीचको व्यापार तनाव बढेको छ । यसैबीच भारतले अमेरिकाको दबाबलाई बेवास्ता गर्दै रुसबाट तेल खरिद जारी राखेको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि हालै रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रुसी राष्ट्रपतिसँग टेलिफोनमा विस्तृत छलफल गरेका थिए । दुई नेताबीच युक्रेन युद्ध र क्षेत्रीय स्थायित्वका विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री मोदीले शान्तिपूर्ण र कूटनीतिक समाधानको पक्षमा भारतको अडान दोहोर्‍याएका थिए।

भारतको विदेश मन्त्रालयले भर्खरै डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको सम्भावित वार्ताको स्वागत गरेको छ। यो जटिल विश्वव्यापी अवस्थाको समाधान वार्ता र कूटनीतिबाट मात्र हुनसक्छ भन्ने भारतको विश्वास रहेको जनाएको थियो ।  एस जयशंकरको यो भ्रमणलाई भारतको स्वतन्त्र विदेश नीति र रणनीतिक सन्तुलनलाई झल्काउने यस दिशामा एउटा बलियो कदम मानिएको छ ।