उच्च अदालतले भन्यो : गौशाला नगरपालिकाकी उपमेयरलाई काम गर्न कुनै अवरोध नगर्नु

महोत्तरी । उपमेयरले क्षेत्राधिकारको आवाज उठाउदा महोत्तरी गौशालाका नगरप्रमुख दिपेन्द्र महतोले कार्यकक्षमा लगाईएको तालाको विषयमा जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बहुमतको आडमा नगरपालिकाको प्रशासकीय भवन परिसरमा उपमेयर रेणु कुमारी महतोलाई काम गर्न नदिने भन्दै अवरोध गरेपछि कार्यकक्षमा प्रवेश गर्न कुनै अवरोध नगर्न आदेश जारी गरेको हो । गत असार-३१ गते जारी भएको आदेशमा उपमेयरलाई कुनै प्रकारको अवरोध नगर्न निर्देशन दिदै साउन-१६ गते अदालतले पेशी तोकेको हुनाले दुवै पक्षलाई उपस्थिति हुन् समेत आग्रह गरिएको छ ।

कानुन वम्मोजिम आफ्नो कार्यकक्षमा बसेर काम गर्न पाउने कानुनी व्यवस्था पालना गर्न पनि निवेदनमा विपक्षी वनाईएको गौशाला नगरपालिकालाई सुझाएको छ । अधिबक्ता सुनिल रंजन सिंहले गरेको बहसमा न्यायाधिश खेमराज भट्टको इजलाशले उक्त आदेश जारी गरेको थियो ।

यसअघि सर्वदलीय छलफलवाट उपमेयरलाई कार्यकक्षमा मर्यादित वातावरण सिर्जना गर्दै काम गर्ने वातावरण बनाउन नगरप्रमुख दिपेन्द्र महतोले प्रतिवद्वता जनाएका थिए । तर उनी प्रतिवद्वतावाट पछाडी हटेपछि उपमेयर रेणु कुमारी महतोले अदालतको सहारा लिएकी हुन् । कार्यकक्षमा अहिले ताला खोलिएको कर्मचारीहरुले बताएका छन् । तर, काम गर्ने वातावरण अझै सिर्जना नभएको उपमेयरले वताउँदै आएकी छन् ।

 यही विचमा जारी भएको अन्तरिम आदेश मेयर महतोले पालना गर्लान की नगर्लान भन्ने बिषय यतिवेला आमा चासो बनेको छ ।