काठमाडौ । समाचारलेखेकै भरमा नेपाल ग्राउण्ड जिरो डटकममा कार्यरत पत्रकार सुभक महतोलाई नेपाल नागरिक उडड्यन प्राधिकरणका विवादित महानिर्देशक प्रदिप अधिकारीको मान्छेले फोन गरेर डर देखाएका हुन् । आफ्नो नामसमेत बताउन नमान्ने ती व्यक्तिले सुन्नै नसकिने शब्दको प्रयोग गरेका छन् ।
महतोले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको अनियमितताबारे समाचार लेखेका थिए । उक्त समाचारलाई लिएर गएको शनिबार बिहान १०ः४९ मीनेटमा उनलाई फोन आयो । ती व्यक्तिले स्तरहीन शब्दको प्रयोग गर्दै उनलाई धम्काए ।
कुन समाचारलाई लिएर चित्त नबुझेको खुलाएनन् । सिधै गालीगलौज गर्नतर्फ लागे । आइतबार बिहान ११ः०१ मीनेटमा १ ९६७८० ५२३–६५६९ नम्बरको ह्वाट्सएपबाट फोन आयो । अघिल्लो दिन फोन गरेकै व्यक्तिले पुनः फोन गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै गालीगलौज गरे ।
ती व्यक्तिले उनलाई गायब पारिदिने, उडाइदिनेलगायतको धम्की दिएको अडियोमा सुन्न सकिन्छ । सिरहामा रहेका महतोका परिवारलाई पनि बाँकी नछोड्ने भन्दै उनले तर्साएका छन् । प्राप्त अडियोमा ती व्यक्तिले भनेका छन्,‘तँ… बिहारी .भारतबाट आएर वरिष्ठ व्यक्तिको विषयमा भ्रम छर्छस् । तलाईं गायब पारिदिन्छु । १० हजारमा काम गर्ने युट्युबे ।’
त्यस्तै, उनले पत्रकारलाई भुस्याहा कुकुर भनेका छन् । भन्छन्,‘तँजस्तो पत्रकार भुस्याहा कुकुरजसरी हिँडिरहेको हुन्छ । तँ कहाँ हिँड्छस् । तेरो परिवार के गर्छ, मलाई राम्ररी थाहा छ । धेरै फाइँफुट्टी नगर, उडाइदिन्छु ।’
प्रतिक्रिया