एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै

काठमाडौं । हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन) को १३ औं सम्मेलन अमेरिकाको न्युयोर्कमा हुने भएको छ । 

फाउण्डेसनका डाइरेक्टर डा. आदित्य जोशीका अनुसार आगामी सेप्टेम्बर १३ देखि १५ सम्म तीन दिन हुने सो सम्मेलनमा नेपाल र अमेरिकाबाट चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले भाग लिनेछन् । 

वार्षिक साधरणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा. जोशीले जानकारी दिए । सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका मानिसहरु न्युयोर्कमा जम्मा हुनेछन् । 

सम्मेलनको पहिलो दिन मानसिक रोग तथा नसर्ने रोग सम्बन्धी कार्यपत्रहरु प्रस्तुत हुने र ती कार्यपत्रमाथि छलफल हुने डा. जोशीले बताए । त्यसैगरी, पेपर प्रिजेन्टेसन र पोष्टर प्रिजेन्टेसन पनि हुनेछन् । 

साथै, सम्मेलनमा नेपाली खानाका साथै साँस्कृतिक कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन् । 

फाउण्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले यो सम्मेलन अमेरिकामा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको सामूहिक प्रयासलाई नेपालको स्वास्थ्य प्रवर्द्धनमा उत्प्रेरित गर्ने साझा थलोको हुने बताए । 

फाउण्डेसनले सन् २०१३ बाट नेपालमा मानसिक स्वास्थ्य, डिजिटल र स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण तथा उपचार, कुपोषण न्यूनीकरण र नेपाली चिकित्सकहरुलाई मेरिटसिप प्रदान गर्दै आएको छ ।