बिहानैदेखि वर्षा, सतर्क रहन महाशाखाकाे आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

अन्यत्र भू–भागमा पनि छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । राति बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति नै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा राति पनि हल्कादेखि मध्यम वर्षा / हिमपातको सम्भावना रहेको छ ।

गएको तीन घण्टामा बैतडीको सिद्धपुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै डोटीको गैरामा ४०.४ मिलिमिटर, जाजरकोटमा ३१.८ मिलिमिटर, रोल्पाको केउर गाउँमा २९.६ मिलिमिटर, बाँकेको नौबस्तामा ३१.८ मिलिमिटर, कैलालीको बलियामा २९ मिलिमिटर, डडेलधुराको साहुखर्कमा २९.२ मिलिमिटर वर्षा भएको छ ।