काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु टोलीसँग भिड्दैछ ।
नेपाल र उज्वेकिस्तानबीचकाे उक्त खेल उज्वेकिस्तानको मिलि स्टेडियममा आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।
अघिल्ला दुवै खेलमा शानदार जित निकालेका दुवै टोलीका लागि यो खेल फाइनलसरह हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।
उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले पराजित गरेको थियो । नेपाल र उज्वेकिस्तानबिच अंक र गोल पनि बराबरी भएकाले निर्धारित समयमा बराबरी भएको खण्डमा खेल टाइब्रेकरमा जानेछ ।
उज्वेकिस्तान तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली हो । फिफा वरियतामा पनि उज्वेकिस्तान नेपालभन्दा ४९ स्थान माथि छ । वरियता र अघिल्ला खेललाई हेर्ने हो भने नेपालले घरेलु टोलीलाई हराउँदै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।
समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेल दुवै टोलीका लागि ‘डु अर डाइ’ को अवस्था छ । यो खेलमा जसले जित निकाल्छ । उही टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ । पराजित हुने टोली घर फर्किनेछ ।
प्रतिक्रिया