शालीन आत्महत्या प्रकरण: शिक्षकलाई सफाइ

काठमाडौं । चितवनको रत्ननगर-१० स्थित एकता शिशु निकेतनमा २०८० फागुन १२ गते १५ वर्षीया छात्रा शालीन पोखरेलले आत्महत्या गरेको घटनामा आत्महत्या दुरुत्साहनको अभियोग लागेका विद्यालयका प्राचार्यसहित तीन शिक्षकले जिल्ला अदालत चितवनबाट सफाइ पाएका छन् ।

प्राचार्य बालहरी देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्मालाई अदालतले कुनै दोष नभएको ठहर गरेको हो । 

जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको एकल इजलासले २०८१ चैत ११ गते गरेको फैसलाको पूर्णपाठ हालै प्राप्त भएको छ । फैसलामा शालीनको आत्महत्यामा शिक्षकहरूको कुनै भूमिका नरहेको र आत्महत्या दुरुत्साहनको अभियोग पुष्टि नहुने ठहर गरिएको छ । शालीनका बाबु दीपेन्द्र पोखरेलले लगाएको बलात्कार र हत्याको आरोप शङ्का र अनुमानमा आधारित रहेको, तर स्वतन्त्र प्रमाण नभेटिएको अदालतको निष्कर्ष हाे।

२०८० फागुन १२ गते विद्यालयको होस्टलमा बस्दै आएकी शालीन झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको परिवारले शिक्षकहरूले बलात्कारपछि हत्या गरेको आरोप लगाएर चितवन र काठमाडौंमा प्रदर्शन र पत्रकार सम्मेलन गरेका थिए । परिवारको दबाबमा प्रहरीले बलात्कार र हत्याको जाहेरी लिए पनि सरकारी वकिल कार्यालयले बलात्कार र हत्याको प्रमाण नभेटिएको भन्दै आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा दायर गरेको थियो ।

अदालतले आधारहरू प्रस्तुत गर्दै शिक्षकहरूलाई सफाइ दिएको छ । शालीनको डायरीमा लेखिएको नोटमा उनले आफ्ना गल्तीहरूका लागि माफी माग्दै मम्मी-बाबालाई सम्झन अनुरोध गरेको उल्लेख छ । डायरीमा उनले पारिवारिक परिस्थितिका कारण दुखी भएको र बाबुआमाको सम्बन्धविच्छेदले विचलित भएको हुन सक्ने सङ्केत छ । पोष्टमार्टम रिपोर्टले आत्महत्याको कारण ह्याङ्गिङ भएको पुष्टि गरेको छ । साथै, शिक्षकहरूले बयानमा कुनै यातना नदिएको र आत्महत्या दुरुत्साहन नगरेको दाबी गरेका छन् ।