प्रहरीकाे गहन अनुसन्धानले यसरी पत्ता लाग्याे दुई दशक अगाडीकाे हत्याकाण्ड

रुपन्देही । नेपाल प्रहरीले अपराधिक घटनालाई अनुसन्धान गर्दा सफलता हात लाग्ने गरेकाे छ । केही घटनाबाहेक नेपाल प्रहरीले धेरैजसाे घटना पत्ता लगाएकाे छ ।

यस्तै मध्ये दुई दशक अघिकाे हत्याप्रकरणकाे प्रहरीले रहस्याेघाटन गरेकाे छ । प्रहरीले यसरी पत्ता लगाएकाे घटना हाे २१ वर्ष अगाडीकाे हत्याकाण्ड ।

एक दाम्पत्य सम्बन्धमा दरार, त्यसपछि घरायसी विवाद, अनि अन्तिममा हत्या भएकाे घटना । पाल्पाको पूर्वखोला गाउँपालिकास्थित १ गुनडाँडा(साविक सिलुवा गाविस ९) मा दुई दशकअघि भएको एक हत्याकाण्डको वास्तविक घटनाकाे सूक्ष्म अनुसन्धान गरेर घटना विवरण बाहिर ल्याएकाे छ नेपाल प्रहरीले ।

६६ वर्षीय पूर्णबहादुर सार्कीलाई प्रहरीले सासूको हत्या अभियोगमा २१ वर्षपछि पक्राउ गरेको छ । उनीमाथि आफ्नै सासू ५५ वर्षीया चिनीसरा सार्कीको ज्यान लिएको अभियोग लागेको छ ।

मृतकको छोरीले दोस्रो विवाह गरी अन्यत्र गएपछि मृतक र प्रतिवादीबीच रिसईबी बढेको कारण पूर्णबहादुरले चिनीसरालाई कुटपिट गरी मारेको र उनको मृत्युपश्चात हालसम्म फरार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जनाए ।

२०६१ साल असार १९ गते बेलुकीको त्यो क्षण अझै गाउँलेहरूलाई झलझली याद छ । घरायसी झगडापछि चिनीसरा अचानक हराइन् । केही घण्टापछि उनी मृत अवस्थामा घरभन्दा केही परको मकैबारीमा भेटिइन् ।

घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले तत्कालीन समयमा नै पूर्णबहादुरलाई प्रमुख आशंकित मानेको थियो । तर उनी घटनापछि फरार भए ।

हत्या आरोपमा खोजी जारी रहँदा उनी भारततिर लुकेर बसे । आफ्नै गाउँ र परिवारबाट टाढा, कानुनको डरले दशकौँसम्म ओझेलमा रहे । प्रहरीले वर्षौंसम्म खोजी जारी राख्दा पनि उनी कहाँ छन् भन्ने ठेगाना स्पष्ट थिएन ।

तर, समय लामो भए पनि प्रहरी अनुसन्धानको चक्र रोकिएन । अन्ततः २१ वर्षपछि—२०८१ असार ६ गते बिहान बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह भन्सार नजिकैबाट उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पूर्णबहादुर नेपाल र भारतको सीमाक्षेत्रमा लुकेर बस्दै आएका थिए । नेपाल छिर्ने प्रयासका क्रममा उनी समातिए । घटनाको पृष्ठभूमिमा एउटा गहिरो पारिवारिक द्वन्द्व छ । चिनीसरा सार्की पूर्णबहादुरकी सासू थिइन् । उनले चिनीसरा सार्कीकी छोरीसँग विवाह गरेका थिए ।

शुरुमा सबै सामान्य देखिए पनि सम्बन्ध चिसिँदै गयो । उनका बीचमा झगडा चर्कँदै जाँदा पत्नीले दोस्रो विवाह गरेर अर्कैसँग गइन् । यही विषयले सासू–ज्वाइँबीचको तनावलाई झनै गहिरो बनायो । प्रहरीको अनुसन्धानमा भनिएअनुसार, पारिवारिक रिसइवीका बीचमा २०६१ को असार १९ गते साढे ६ बजे बेलुकी पूर्णबहादुरले घरमै कुटपिट गरी चिनीसरा सार्कीलाई नजिकैको मकैबारीमा लगेर घाँटी थिचेर हत्या गरेका थिए ।

हत्या अनुसन्धानबारे प्रहरीले जिल्लाको अदालतबाट पाँच दिनको म्याद लिएको छ । ‘मुलुकी ऐन २०२०’ को ज्यान सम्बन्धी महलको दफा १ अनुसार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा पुरानो घटनाका पीडितहरू अझै न्यायको प्रतीक्षामा छन् ।

चिनीसरा सार्कीको परिवारका सदस्यका अनुसार, ‘हामीले सोचेका थियौँ, यो घटना कहिल्यै न्यायको उज्यालोमा आउने छैन । तर अब ढिलो भए पनि सत्य उजागर भयो ।’

पूर्वखोला गाउँपालिका १ का वडाध्यक्ष गिरिमान आलेले आफू सानै छँदा यो घटना भएपनि अहिले बल्ल आरोपित व्यक्ति समातिएको बताए । ‘यो घटना हुँदा सानै थिएँ, सासूको हत्या भएपछि उनीहरुको परिवार सबै गाउँबाट हिंडेका हुन्, हिजो प्रहरी आएर सबै रिपोर्ट लगेर जानुभयो, गलत काम गरेपछि जहाँ लुकेपनि एकदिन प्रहरीको फन्दामा परिनेरहेछ भन्ने यसले प्रमाणित भयो’ उनले भने ।