नेकपा एसका उपमहासचिव मेटमणि चाैधरीलाई साेधियाे स्पष्टीकरण

काठमाडाै । मुलुककाे अखण्डतामाथि आँच आउने अभिव्यक्ति दिएपछि नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर उनलाई पार्टीले स्पष्टीकरण सोधेको हो ।

महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।

‘तपाईले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, (कालापानी र लिपुलेक) भारतको हो नि, भन्नु भएको रहेछ’ स्पष्टीकरण पत्रमा भनिएको छ । चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।