ओली, देउवा र प्रचण्डकाे बालुवाटारमा भेट, के भयाे कुराकानी ?

काठमाडौं । संवैधानिक परिषदकाे बैठकअघि तीन पार्टीका शिर्ष नेताकाे भेटघाट भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे भेट आज बालुवाटारमा भएकाे हाे ।

भेटमा प्रचण्डले सम्भव भएसम्म भोलि बस्नै संवैधानिक परिषद्को बैठकबाट पूर्णता दिनुपर्नेमा जोड दिएका छन्।

ओली र देउवासँगको भेटमा संवैधानिक निकायमा सम्भव भए भोलि नै, नभए अर्को सहमति गरेर चाँडै सबै रिक्त पदलाई पूर्णता दिनुपर्ने बताएका प्रचण्ड सचिवालयले बतायो।

संवैधानिक परिषद्को बैठक भोलि बस्दै छ। भोलिको बैठकले रिक्तमा नियुक्तिको तयारी भइरहेको छ।

हिजो बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

भेटमा तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी ।’

यता, सत्ता गठबन्धनले परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।

यस्तै, प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यही दिन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने तयारी पनि गरेका छन्।