काेशीका पूर्वमुख्यमन्त्री कार्कीले अनशन ताेडे

काठमाडाै । काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन्। प्रदेश सरकारले उनकाे  माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले अनशन ताेडेका हुन्।

मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस नेताहरूसँग छलफल गर्दै कार्कीका माग पूरा गर्ने वचन दिएका छन्।

मंगलबार साँझ मुख्यमन्त्रीले छलफलका लागि बोलाएपछि कार्कीको तर्फबाट विराटनगर महानगरका मेयर नागेश कोइराला सहितका नेताहरू गएका थिए। छलफलमा मुख्यमन्त्रीले माग पूरा गर्ने वचन दिएका थिए।

आन्तरिक मामिला मन्त्री लिलावल्लभ अधिकारीले सरकारका तर्फबाट र केदार कार्कीले सहमतिमा हस्ताक्षर गरेका छन्।

आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवन नजिकै अनशन बसेका थिए।

प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण प्रहरीले उनलाई त्यहाँ नबस्न भनेको थियो। त्यसका बाबजुद पनि कार्कीले अनसन जारी राखेपछि प्रहरीले उनलाई त्यहाँबाट हटाउने प्रयास गर्दा कार्यकर्ताहरूले रोक्ने प्रयत्न गरेका थिए।