काठमाडौँ । सोमबार निधन भएका वामपन्थी नेता तथा जनता टेलिभिजन सञ्चालक समितिका अध्यक्ष डा.विजय पौडेलको अन्त्येष्टिको तयारी हुँदैछ ।
विहान १० बजेपछि छोरा रवि पौडेल अष्ट्रेलियाबाट काठमाडौँ फर्किँदैछन् । त्यसपछि पोष्टमार्टम गरिने र लगत्तै पशुपति आर्यघाटमा अत्येष्टिको तयारी भइरहेको पौडेलका सहयोगी मिलन राईले बताए । उनका अनुसार अपराह्न ३ बजेपछि पशपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ ।
स्व. पौडेलको परिवारमा बुबा वामपन्थी नेता एवं प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रित, आमा कविता पौडेल, पत्नी रम्भा, छोरा रवि, छोरीहरु निष्ठा र कावेरी छन् । उनी पछिल्लो समय नेकपा (संयुक्त) को संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
जनता टेलिभिजन सञ्चालनका क्रममा अत्यधिक आर्थिक भारका कारण पछिल्ला दिनमा उनी तनावपूर्ण स्थितिमा थिए । कतिपयले सोही तनावका कारण उनले औषधीको ओभरडोज वा कुनै प्राणघातक बस्तु सेवन गरेको अनुमान गरेका छन् । यद्यपि, चिकित्सकीय विधिबाट ती कुरा पुष्टि भएका छैनन् । आजै हुने पोष्टमार्ट रिपोर्टपछि सत्यतथ्य आउने राईले बताए ।
स्व. पौडेलको शव कीर्तिपुरस्थित बर्न अस्पतालको मर्चरीमा राखिएको छ ।










प्रतिक्रिया