काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोकेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको हो । सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान गएको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेकाे छ ।
‘घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि छानबिन निष्कर्षमा नपुगुञ्जेलसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।’
रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वास व्यक्त गर्दै रास्वपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको र आन्तरिक एवं सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नरहने जनाएको छ ।











प्रतिक्रिया