प्रहरीलाई व्यावसायिक, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउनुपर्छ: महानिरीक्षक कार्की

काठमाडौं । प्रहरीको वास्तविक शक्ति वर्दी र कानुनी अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा निर्भर रहने प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले प्रहरीलाई व्यावसायिक, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका हुन्।

प्रहरीको अधिकारको प्रयोग निष्पक्ष र जिम्मेवार हुनुपर्ने सन्देश दिँदै कार्कीले बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भएर कानुन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।

‘कानुन कार्यान्वयन गर्ने अधिकार प्रहरीसँग हुन्छ। तर त्यसको प्रयोग कसरी हुन्छ भन्ने कुराले नै प्रहरीप्रतिको नागरिकको धारणा निर्धारण गर्छ। प्रहरीको निर्णयसँग नागरिक सहमत नहुन सक्छन्, तर प्रहरीको व्यवहार निष्पक्ष र कानुनसम्मत छ भन्ने विश्वास गर्ने वातावरण बन्नुपर्छ’, उनले भने, ‘प्रहरीको व्यावसायिकता निर्देशन र प्रतिबद्धतामा मात्र सीमित हुनु हुँदैन। उजुरीमाथिको निष्पक्ष अनुसन्धान, शक्तिको दुरुपयोग नियन्त्रण, पीडितप्रतिको संवेदनशीलता र गल्ती गर्ने कर्मचारीमाथिको जबाफदेहिताले प्रहरीको विश्वसनीयता निर्धारण गर्छ।’

त्यसैले प्रहरीको संस्थागत शक्ति नागरिकमाथि अधिकार प्रदर्शन गरेर होइन, कानुनको निष्पक्ष कार्यान्वयन र जिम्मेवार व्यवहारबाट स्थापित हुनुपर्ने उनको धारणा थियो।

साइबर अपराध, डिजिटल ठगी, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनका चुनौती बढ्दै जाँदा प्रहरीको कार्यशैली पनि समयानुकूल बन्नुपर्ने आवश्यकता उनले औँल्याए।

कार्कीले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई व्यावसायिक क्षमता अभिवृद्धिसँग जोड्नुपर्ने सन्देश दिएका छन्।

‘प्रविधिको प्रयोगले अपराध अनुसन्धान, सूचना विश्लेषण र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्छ।

तर प्रविधिको उपयोग गर्दा नागरिकको गोपनीयता, तथ्यको शुद्धता, कानुनी प्रक्रिया र मानवअधिकारको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ’, उनले भने।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित घटनामा विशेष संवेदनशीलता आवश्यक रहेको उनले बताए।

यस्ता घटनामा पीडितको कुरा ध्यानपूर्वक सुन्ने, गोपनीयता कायम गर्ने, सम्मानजनक व्यवहार गर्ने र आवश्यक संरक्षण उपलब्ध गराउने जिम्मेवारी प्रहरीको हो।

न्याय खोज्दै प्रहरी कार्यालय पुग्ने नागरिकले त्यहीँ अपमान, उपेक्षा वा अनावश्यक दबाब भोग्नुपर्ने अवस्था आउनु नहुने आइजिपी कार्कीले बताए।

प्रहरी सेवाको प्रभावकारिता अपराधी पक्राउ गर्ने सङ्ख्याले मात्र होइन, पीडित र सेवाग्राहीले पाउने व्यवहारले पनि निर्धारण गर्ने उनको भनाई थियो।

प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका अधिकृतहरूका लागि दीक्षान्त समारोह तालिम पूरा गरेको औपचारिक अवसर मात्र नभएर जिम्मेवारीको नयाँ चरण पनि भएको उनको भनाई थियो।

कार्यक्षेत्रमा प्रवेश गरेपछि उनीहरूले कानुनको पालना गराउने क्रममा निष्पक्षता, अनुशासन, मानवअधिकार र नागरिकप्रतिको सम्मानलाई व्यवहारमा उतार्न उनले सुझाए।

‘प्रहरी नेतृत्वले व्यावसायिकता र नागरिकप्रतिको उत्तरदायित्वमा जोड दिनु महत्त्वपूर्ण छ। तर यसको प्रभावकारिता मातहतका कर्मचारीको दैनिक कार्यशैली, अनुसन्धानको निष्पक्षता, उजुरीको सुनुवाइ र शक्तिको प्रयोगमा देखिनुपर्छ’, आइजिपी कार्कीले भने।

प्रहरीलाई नागरिकको भरोसायोग्य संस्था बनाउने लक्ष्य पूरा गर्न नेतृत्वको प्रतिबद्धतासँगै प्रभावकारी अनुगमन, पारदर्शिता र जबाफदेहिताको व्यवस्था आवश्यक हुनले बताए।

उनले अन्ततः प्रहरीको वर्दीले अधिकारको प्रतिनिधित्व गर्छ, तर नागरिकको विश्वासले त्यस अधिकारको औचित्य र विश्वसनीयता स्थापित गर्ने समेत बताएका थिए।