गगन थापाको नेतृत्वमै कांग्रेस अघि बढ्छ, छुटेका नेता–कार्यकर्ता फर्काउँछौँः पूर्वमन्त्री शाही

काठमाडौं । पूर्वसंघीय मन्त्री, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेस पार्टी सभापति गगनकुमार थापाकै नेतृत्वमा अघि बढ्ने प्रस्ट पारेका छन्। कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका नेता शाहीले कांग्रेसका सबै नेता–कार्यकर्ताको त्याग र योगदानको सम्मान हुनेगरी पार्टी नेतृत्व अघि बढ्ने प्रस्ट पारेका हुन्।

शाहीले केवल होहल्ला र नाराभन्दा पनि नेताहरूको त्याग, तपस्या, योगदान र अनुभवको निष्पक्ष मूल्यांकन गरेर महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने बताए। उनले राजनीति एक समाजसेवा भएको र यसमा परिपक्व सिप तथा अनुभवको उत्तिकै आवश्यक पर्ने बताए।

पूर्वमन्त्री शाहीले १५औँ महाधिवेशनलाई आपसी गुटबन्दी वा वैमनस्यताको थलो नबनाई सम्पूर्ण कांग्रेसजनलाई समेट्ने एकताको महाधिवेशन बनाइएकाले पार्टी सभापति र पदाधिकारीले पनि सोहीअनुरुप सबैलाई समेटेको र छुटेका नेता कार्यकर्तालाई पनि समेट्ने बताए।

नेता शाहीले कांग्रेसको १५औँ महाधिवेशनमा १४ औँ महाधिवेशनमा सोही पदमा झिनो मतले पराजित भए पनि यसपटक महाधिवेशन प्रतिनिधिको साथ पाउने विश्वास व्यक्त गरे। उनले कर्णालीसहित पिछडिएका नौ जिल्लाको अधिकार, विकास र नीति निर्माण तहमा प्रभावकारी नेतृत्वका लागि उम्मेदवारी दिएको स्पष्ट पारे।

उनले पिछडिएको क्षेत्रको कोटा पार्टी विधानमा समावेश गराउन आफूले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरे। उनका अनुसार तत्कालीन पार्टी नेतृत्व र महामन्त्री गगन थापालगायतका नेताहरूसँग निरन्तर छलफलपछि मात्रै कर्णालीलाई समेटेर पिछडिएको क्षेत्रको क्लस्टर कायम गरिएको हो।

‘जनप्रतिनिधि हुनु र पार्टीको पदाधिकारी हुनु फरक विषय हुन्। मल्टिपार्टी डेमोक्रेसीमा पार्टीको नीति र विचारका आधारमा सरकार सञ्चालन हुने भएकाले पार्टीको संगठन निर्माण र नीतिगत बहसमा पदाधिकारीको भूमिका अपरिहार्य हुन्छ,’ उनले भने।

नेता शाहीले कर्णाली प्राकृतिक रूपमा धनी भए पनि पूर्वाधारको अभावमा पछाडि परेको उल्लेख गर्दै आफ्नो मुख्य प्राथमिकता विकास र समृद्धिमा रहने बताए। उनले कर्णालीमा रहेका १८ देखि २१ हजार मेगावाट विद्युत् उत्पादन क्षमताको उपयोग, सडक सञ्जालको विस्तार तथा मानसरोवर कैलाश जाने प्रमुख प्रवेशद्वार सिमकोटमार्फत पर्यटन प्रवर्धन गर्ने एजेन्डा अघि सारेका छन्।