काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो ।
खुलामञ्चमा अहिले केही बेरमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछिमात्र बन्दसत्र सुरु गर्ने कार्यक्रम रहेको छ ।
उनले भने, “पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेस गर्नुहुन्छ । सोही अनुसार नै बैठकले ‘एजेन्डा’ अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ ।”
उनका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ । प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ ।
मङ्गलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया