सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी शासनतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

आज नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गरे पनि सरकार संवादबाट भागेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन । सरकार नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा सङ्कल्प गर्न सक्दैन । त्यो अवस्थामा भविष्यका प्राकृतिक विपत्तिहरूलाई, सङ्कटहरूलाई हामी कसरी सामना गर्न सक्दछौँ भन्ने कुरा अत्यन्त चिन्ताको विषय बनेको छ ।’

उनले सरकारका गतिविधिले लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको बताए ।

उनले थपे, ‘जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसद्लाई चिन्नुहुन्न। संसद्लाई सुन्नुहुन्न। जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हेर्दै छौँ कि, स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दै छौँ, अधिनायकवादतर्फ हामी हिँड्दै छौँ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्न पुगेको छ ।’

राष्ट्रियताको सवालमा नेपालका वामपन्थी र लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्ने बताए ।

उनले भने, ‘नेपालमा भूराजनीतिक द्वन्द्वका कारणले नेपालको भविष्य के हुने हो ? प्रश्न खडा भएको छ । देशको अस्मिता, सार्वभौमसत्ताको रक्षाका लागि नेपालका राजनीतिक दलहरू राष्ट्रियताका प्रश्नमा एक ठाउँमा उभिनुपर्ने अवस्था उत्पन्न भएको छ ।’

उनले कांग्रेसलाई बदलिएको समयअनुसार चल्न शुभकामना दिए।