संयुक्त राष्ट्रसंघकाे महासभालाई सम्बाेधन गर्दै के भने प्रधानमन्त्री बालेनले ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले अति कम विकसित देश (एलडीसी) भएपनि जलवायु तथा वातावरण संरक्षणमा आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले वातावरण संरक्षणसँगै स्वच्छ ऊर्जा र विद्युतीय यातायात प्रवर्द्धनमा गरिरहेको प्रयासबारे विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।

उनले नेपालको झन्डै आधा भूभाग वनजङ्गलले ढाकिएको उल्लेख गर्दै वन संरक्षणलाई वातावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।

प्रधानमन्त्री शाहले प्रदूषणकारी ऊर्जा स्रोतलाई विस्थापित गर्ने उद्देश्यले नेपालले तीव्र गतिमा जलविद्युत् उत्पादन विस्तार गरिरहेको समेत बताए। त्यस्तै, विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा समेत नेपालले उल्लेखनीय प्रगति गरेको उनको भनाइ थियो।

उनले विद्युतीय सवारीसाधनको प्रयोग तथा प्रवर्द्धनको अवस्थालाई युरोपका कतिपय हिस्सासँग तुलना गर्न सकिने दाबीसमेत गरे।

जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई सम्बोधन गर्न नेपालले स्थानीय तहबाटै जलवायु अनुकूलनका कार्यक्रमलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गरे।

उनले नेपालले सीमित स्रोत र साधनका बाबजुद वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि गरिरहेको प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले समेत बुझ्नुपर्ने धारणा राखे।