काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन विना तामझाम र औपचारिक सलामी अमेरिका प्रस्थान गरेका छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहको बिदाइका लागि विमानस्थलमा परम्परागत औपचारिक समारोह तथा ‘गार्ड अफ अनर’को कार्यक्रम राखिएको थिएन।
प्रधानमन्त्री शाह दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुधबार न्युयोर्क पुग्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत अधिकारीले उनको स्वागत गर्ने कार्यक्रम छ।
.jpg)
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा जानेछन्। त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतले भ्रमणका विषयमा उनलाई जानकारी गराउने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। त्यसअघि उनको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता हुनेछ।
प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा पछिल्लो बाढीबाट भएको क्षतिका विषय उठाउने तयारी छ।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै असोज १० गते काठमाडौं फर्कने कार्यक्रम छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो।










प्रतिक्रिया