काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले उद्धार प्रयासका क्रममा पहिरोका कारण नयाँ बनेको अवरोध ताल (ब्यारियर लेक)मा विशेष ध्यान दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का वरिष्ठ नेताहरूको शुक्रबार बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको बैठकको विवरणमा भनिएको छ, ‘पहिरोका कारण बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी राख्नुपर्छ र थप विपद् हुन नदिन प्रभावकारी उपायहरू कडाइका साथ अपनाउनुपर्छ।’
यो निर्देशन बैठकपछि तालले बाँध नाघेर पानी बग्न थालेको पछिल्लो खबर सार्वजनिक हुनुअघि दिइएको थियो।
बुधबारको ठूलो बाढीपछि बनेको उक्त अवरोध ताल ओभरफ्लो हुन थालेपछि थप पहिरो वा बाढीको जोखिम बढेको छ। यसले जीवित व्यक्तिको उद्धार कार्यलाई समेत थप जटिल बनाएको छ।
सिन्ह्वाका अनुसार सीले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बैठकमा सहभागी सबैलाई एक मिनेट मौनधारण गर्न पनि आग्रह गरेका थिए।
बैठकको विवरणमा यो विपद् उच्च हिमाली तथा चिसो क्षेत्रमा, भिरालो उपत्यका र परिवर्तनशील मौसमका बीच भएको उल्लेख गरिएको छ।
आसपासमा धेरै हिमनदी, हिमताल तथा सम्भावित भौगर्भिक जोखिम रहेका कारण उद्धार तथा राहत कार्य निकै कठिन रहेको बताइएको छ।
चीनले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार तिब्बततर्फ ३ जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता छन्।
यसैबीच, बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फ १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको बताएका थिए।
बुधबार नेपाल–तीब्बत सीमानामा गएको विनाशकारी बाढीका कारण हालसम्म नेपालमा ४८९ जनाको मृत्यु पुष्टि भइसकेको छ।










प्रतिक्रिया