काठमाडौं ।रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीमा परी बगाएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी दीपक रेग्मीका अनुसार आज नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो।
रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान करिब ९ बजेतिर एक्कासि बाढी आएको थियो। तिब्बत क्षेत्रबाट भोटेकोसी हुँदै आएको बाढीको बहाव नुवाकोट र धादिङ हुँदै चितवनसम्मका नदी क्षेत्रमा पुगेको छ। बाढीको तीव्र बहावका कारण नदी आसपासका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीले घर, पुल तथा जलविद्युत् आयोजनालगायतका संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीमा परी थप मानिस बेपत्ता भएको हुन सक्ने भएकाले सुरक्षा निकायले खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन भएका छन्।
सुरक्षा निकायले नदी आसपासका सम्भावित स्थानमा खोजी गरिरहेको छ भने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत जारी रहेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया