काठमाडौं । नेकपा एमाले नेता प्रदीप ज्ञवालीले गएको ५ महिनाको कामकारबाहीको लक्षणले बालेन सरकार निर्वाचित अधिनायकवादतिर गएको टिप्पणी गरेका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको बताएका हुन् ।
ज्ञवालीले भने, ‘यो सरकार एउटा निर्वाचित अधिनायकवादतिर, जसको निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन, पार्लियामेन्ट जसका निम्ति कुनै अर्थको छैन, खुद आफ्नै पार्टीको पनि जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरू, अन्य राजनीतिक दलहरू- संवाद त धेरै टाढाको कुरा भो- मिडिया, यी सबै कुरालाई किनारा लगाउँदै बेलगाम घोडाजस्तो एउटा अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’
झण्डै दुई(तिहाइको जनादेशको दम्भमा सरकारक प्रतिगामी कदमतर्फ जानसक्ने आशंकासमेत व्यक्त गरे ।
‘पार्लियामेन्ट भित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन । उसले भोलि प्रतिगामी संशोधन गर्न चाहँदा संविधानमा, यद्यपि राष्ट्रियसभा छ त्यसले चेक एण्ड ब्यालेन्स गर्ला, तर प्रतिनिधिसभामा भन्ने हो भने हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एक(तिहाइ पनि शक्ति नभएको एकदमै प्रतिकूल शक्ति सन्तुलनमा हामी छौँ’, उनले भने ।
सामाजिक सञ्जाललाई नियन्त्रणमा राखेर प्रश्न गर्नेहरूमाथि साइबर बुलिङ र सेल्फ सेन्सरसिप बढाएको ज्ञवालीको जिकिर छ ।
‘सामाजिक सञ्जाल उनीहरूको नियन्त्रण छ जहाँ तपाईंले सत्य बोल्नुभयो, अलिकति असहमति आवाजहरू बोल्नुभयो भने तपाईंलाई साइबर बुलिङ गरेर, तपाईंलाई ह्यारेस गरेर, तपाईंको चरित्र हत्या गरेर, या त त्यहाँबाट पलायन हुनुपर्ने या त एक खालको सेल्फ सेन्सरसिप ढंगले समाजलाई भयको एउटा मौनतामा धकेलेर आफ्नो निर्वाध सत्ता चलाउने बाटोतिर मुलुक गइरहेको छ’, उनले थपे, ‘यो बेला हामी वामपन्थीहरू, हामी कम्युनिष्टहरूको काँधमा खाली समाजवादी आन्दोलनको मात्रै रक्षाको प्रश्न होइन, अहिलेको लोकतन्त्रको, अहिलेका उपलब्धिहरूको रक्षाको समेत दायित्व आइरहेको छ ।’
वामपन्थी एकतामा जोड दिँदै उनले राष्ट्रियताको संरक्षण, संविधानको रक्षा, लोकतन्त्र र खुल्ला परिवेशको रक्षा, जनजीविकाका समस्याहरू र सामाजिक सद्भावको रक्षाजस्ता विषय सहकार्यको आधार हुनसक्ने बताए ।










प्रतिक्रिया