मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिसँगै सपथग्रहरण आज हुँदैछ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री थापाको नियुक्ति गर्न लागेका हुन् । राप्रपाको समर्थन विवादमा परेका बखत प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्ति प्रक्रिया अघि बढाएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा थापालाई आजै ४ बजे नियुक्त गरी शपथ ग्रहण गराउने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरेको विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यका रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो ।
थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले समर्थन जनाएका छन् । तीन दलको संसदीय दलको समर्थन सहितको निवेदन भदौ ३ गते नै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको र सोही अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
कार्यालयका अनुसार मुख्यमन्त्री नियुक्तिको लागि आज अपराह्न ४ः०५ बजे तय गरिएको छ भने त्यसलगत्तै अपराह्न ४ः२० बजे नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह सुरु हुनेछ । प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहण समारोहमा उपस्थित हुने पाहुनाहरूलाई औपचारिक पोसाकमा उपस्थित भइदिन समेत अनुरोध गरेको छ ।
बागमती प्रदेशमा नयाँ सरकार गठनमा थापाले दाबी पेस गरेदेखि नै राप्रपा भित्र विवाद सुरु भएको छ । राप्रपा संसदीय दलले दिएको समर्थ अस्वीकार गर्न राप्रपा केन्द्रले पत्राचार गरेको छ भने संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले पनि पत्राचार गरेकी छिन् ।










प्रतिक्रिया