भारतबाट मेयरको मुर्ती खरिद रहस्यमय भन्दै छानबिन गर्न लहानबासीको माग

साजन चौधरी

लहान । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रशाद चौधरी नेतृत्वको टोलीले भारतबाट अपारदर्शी रुपमा दुर्गाको मुर्ती खरिद गरी ल्याईनुलाई लहानबासीले रहस्यमय भनेका छन् । लहान ७ स्थित बजारमा निर्माणाधिन दुर्गा मन्दिरमा प्रतिस्थापन गर्नका लागि मेयर चौधरी नेतृत्वको टोलीले हालै भारतको जयपुरबाट मुर्ती खरिद गरेर ल्याएको स्थानीयले दाबी गरेका छन् । भारतको अयोध्यामा हालै निर्मित राम मन्दिरमा प्रतिस्थापन गर्नको लागि नेपालबाट शिला लगिएको अबस्थामा मेयर चौधरी नेतृत्वको टोलीले भारतबाट मुर्ती खरिद गर्नुलाई रहस्यमय भन्दै शंकाउपशंका गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला अयोध्यास्थित राम मन्दिर लगिएको थियो ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शालिग्राम हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न गरेर श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाईएको थियो ।
मुर्ती प्रतिस्थापनका लागि नेपालबाट शिला भारत लगिरहेको अबस्थामा लहानस्थित निर्माणाधिन दुर्गा मन्दिरमा प्रतिस्थापनका लागि मेयर लगायतको टोलीले भारतको जयपुरबाट दुर्गाको मुर्ती खरिद गरेर ल्याईएकाले रहस्यमय भन्दै बिभिन्न कोणबाट टिकाटिप्पणी सुरु भएको हो । कतिपयले आफूखुशी बिल बनाएर मोटो कमिशन खानका लागि भारतबाट मुर्ती खरिद गरिएको अड्कल गरेका छन् भने कतिपयले मुर्ती ल्याउने बहानामा भारीमात्रामा सुनचाँदी तस्करी गरिएको दाबी गरेका छन् ।


को–को गएका थिए मुर्ती किन्न ?


बताईएअनुसार मुर्ती खरिद गर्नका लागि लहान नगरपालिकाका प्रमुख चौधरीको नेतृत्वमा ४ जनाको टोली भारतको जयपुर गएको थियो । मुर्ती खरिदका लागि मेयर चौधरीसँग भारत जानेमा लहान ७ का वडाध्यक्ष रामऔतार शर्मा , उद्योग वाणिज्य सँघ सिरहाका पूर्वअध्यक्ष तथा सुनचाँदी ब्यवसायी महासँघका केन्द्रीय सदस्य बिकाश शारडा र मोबाईल ब्यापारी बिजय गुप्ता रहेको बताईएको छ । टोलीका एक सदस्यले भारतबाट मुर्ती खरिद गरिएको पुष्टि गर्दै उक्त मुर्तीको लागत भारु ११ लाख रुपैयाँ ( नेपाली रुपैयाँ १७ लाख ६० हजार रुपैयाँ ) रहेको जानकारी दिएका छन् ।


लामो समयदेखी शैक्षिक क्षेत्रमा सक्रिय मेयर चौधरी नेपाली कांग्रेसका सिरहा क्षेत्र नं. १ का सभापति हुन् । लामो समय लहान नगरको मेयर चलाएका नेकपा एमालेका नेता मुन्नि साहलाई परास्त गर्दै पछिल्लो स्थानीय तह निर्वाचनमा चौधरी मेयरमा निर्वाचित भएका थिए । आफूलाई निस्कलकिंत र जनपक्षीय मेयरका रुपमा परिचय स्थापित गर्न खोजेपनि मेयर चौधरीको कार्यकाल बिवादरहित भने बन्न सकिरहेको छैन ।
मुर्ती खरिदका लागि मेयर चौधरीसँगै भारत गएका अन्य ३ जना भने पटकपटक बिवादमा पर्दै आएका ब्यक्ति रहेको लहानबासीहरु बताउँछन् । वडाध्यक्ष रामऔतार शर्माले भारत र नेपालको दोहोरो नागरिकता लिएर प्रयोग गरिरहेको र नेपालमा ब्यापार ब्यवसाय गरिरहेकाहरुलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्दै आएको स्रोत बताउँछ । मारवाडी समुदायका शर्मा भारत राजस्थानबासी भएको बताईएको छ । अघिल्लो स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको जसपाबाट वडाध्यक्षको उमेदवार बनेका शर्मा पराजित बनेका थिए भने गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रसबाट उमेदवार बनेरी वडाध्यक्षमा निर्वाचित भएका थिए । भारतीय नागरिकलाई वडाध्यक्षको उमेदवार बनाईएको भन्दै कांग्रेसका स्थानीय नेताकार्यकर्ताबीच बिवाद उत्पन्न भएको थियो । चुनाव जित्नका लागि आफूले लहानस्थित घरघडेरी बिकाश शारडासँग बन्धकी राखेर खर्च गर्नुपरेको भन्दै वडाध्यक्ष शर्माले आफू निकटहरुसँग गुनासो गर्दै आएको बताईन्छ ।

यता बिकाश शारडा पनि बिवादित ब्यापारीको छबि बनाएका ब्यक्ति हुन् । बिश्वस्त स्रोतका अनुसार शारडाको नाम नामुद सुन तस्करीका रुपमा पटक–पटक मिडियामा सार्बजानिक हुँदै आएपनी शक्ति केन्द्रहरुलाई प्रभाबमा पारेर कानुनी कार्बाहीबाट उन्मुक्ति पाउँदै आएका छन् । नेपाल र भारत सुन तस्करीको ट्राञ्जित बनाउँदै आएका शारडाले लहानस्थित बिकाश ट्रेडर्श मार्फत मधेश प्रदेशका ८ जिल्ला र कोशी प्रदेशका उदयपुर , ओखलढुगां लगायतका जिल्लामा लामो समयदेखि बिलविजक बिनै सुनको अवैध कारोबार गर्दै आएको स्रोतको दाबी छ । अघिल्लो स्थानीय चुनाबमा लहान ७ बाट नेपाली कांग्रेसबाट वडाध्यक्षको उमेदवार बनेका शारडा उतिबेला पराजित बनेका थिए । मेयर चौधरीको निकट मानिने शारडाले बेलाबेलामा हुने मेलामहोत्सवहरुमा मेयर चौधरीसँग मिलेर आर्थिक हिनामिना गर्दै आएको भनेर आलोचना समेत हुने गरेको छ ।

उता मोबाईल ब्यापारी गुप्ता कलबाईपासको धन्दाबाट रातारात नवधनाढ्य बनेका ब्यक्तिका रुपमा लहानमा परिचित छन् । कुनैबेला लहानमा फोटो स्टुडियो चलाएर बसेका गुप्ताले कलबाईपासको धन्दाबाट रातारात लहान बजारमा २ ओटा घर बनाउन सफल भएको स्रोत बताउँछ ।

सिरहामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत एक सेवा निवृत सहसचिबका अनुसार सिरहा र सप्तरीका नेपाल भारत सीमा क्षेत्रबाट कलबाईपासमा सक्रिय थिए । आफूले कानुनी कार्वाहीको दायरामा ल्याउन खोज्दा राजनीतिक पहुँचका आधारमा गुप्तालाई उन्मुक्ति दिन आफू बाध्य भएको ति सेवा निवृत सहसचिबले बताए ।

मोबाई फोनका थोक बिक्रेता गुप्ताले पनि नेपाल भारतको दोहोरो नागरिकता प्रयोगमा ल्याईरहेको स्रोतको दाबी छ । गुप्ता नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दहाल निकट मानिन्छन् ।


बिवादित ब्यक्तिहरुको समूह बनाएर मेयर चौधरीको भारतबाट दुर्गाको मुर्ती खरिदलाई लहानबासीले रहस्यमय भनेर शंकउपशंका गरिरहँदा टोलीका चारैजना सम्पर्कबिहीन अबस्थामा रहेका छन् । यस बिषयमा प्रतिकृया लिन खोज्दा मेयर चौधरी , वडाध्यक्ष शर्मा , ब्यापारीदय शारडा र गुप्ता सम्पर्कमा आउन चाहेनन् ।

कार्यकाल सकिन लाग्दा मेयर चौधरीले हतारमा आउँदो दशैँमा मन्दिर शिलान्यास गर्ने तयारी गरेको स्रोतले बतायो । हाल निर्माणको अबस्थामा रहेको दुर्गा मन्दिर निर्माण समितीको अध्यक्ष स्वं मेयर चौधरी र सचिबमा वडाध्यक्ष शर्मा छन् भने सदस्यमा शारडा र गुप्ता समेत रहेको बताईन्छ ।
रहस्यमय मुर्ती खरिदको तटस्थ छानबिन गर्न स्थानियले अख्तियार र सरोकारबाला निकायसँग माग गरेका छन् ।