गगनप्रति माेहन बस्नेतकाे कटाक्ष: बोकाले दाइँ हुने भए गोरु चाहिँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै सरकारलाई समेत डोर्‍याएर मुलुकलाई निकास दिने हैसियत राख्ने राजनेता देउवा नै भएकाे बताए।

विशेष महाधिवेशनका पक्षधरलाई खरानी दस्ताको संज्ञा दिए। उनले गगन थापाबाट पार्टी नचल्ने बताए।

उनले भने, ‘उहाँले युवा भन्नुहुन्छ, ५२ वर्ष नाघिसक्नुभएको छ। उहाँले ५५ वर्ष पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ। अब ३ वर्षमा चुनाव नियमित प्रक्रियामा भयो भने आउने चुनाव उहाँ लड्न भ्याउनुहुन्न। कमसेकम बोलेको कुरा पूरा गर्नुहुन्छ गगन थापाजी।’
उनले गगनले कांग्रेसलाई भष्मखरानी बनाएको आरोप लगाए।

उनले थपे, ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। त्यसकारण आज पार्टी चलेको छैन, पार्टी बर्बाद भएको छ, भष्म खरानी भएर गएको छ।’
उनले देउवाको नेतृत्वमा वडा, पालिका, प्रदेश, सङ्घ र राष्ट्रिय सभामा समेत बहुमतको अवस्थामा पुर्‍याएको बताए।

उनले थपे, ‘त्यत्रो कांग्रेसको हालत सानो बनाइएको छ। अझै गगन नभएको कांग्रेस माटोमा मिल्थ्यो रे? के भन्यो त्यो? तपाईँहरू खरानी भइसक्नुभयो। तपाईँबाट पार लाग्दैन।’

गगन थापाले युवालाई अगाडि बढाएर राजनीति छाडे आफू पनि तयार रहेको बताए।

उनले भने, ‘कांग्रेस शून्य भएको ठाउँमा मैले चुनाव जितेर ठुला दल बनाएर सिन्धुपाल्चोकबाट आएको हो। तपाईँजस्तो भागी भागी अर्काले दुख गरेको ठाउँमा गएर चुनाव लड्न परेको छैन। उहाँको चुनाव क्षेत्र नभएको कुरा प्रमाणित भएको छ। त्यो भए तपाई पनि चुनाव नलड्नुस् म पनि लड्दिनँ, मुखले बकवास गरेर हुँदैन। फण्डा नगरौँ व्यवहारमा उतारौँ।’