राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ त ?: देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि विदेश गएको करिब पाँच महिनापछि आज स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै देउवा कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको चुनदेवीमा सञ्चालन गरेको सम्पर्क कार्यालय पुगे। त्यहाँ भेला भएका नेता तथा कार्यकर्तालाई उनले संक्षिप्त सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनपछि आफू र परिवारमाथि भएको अनुसन्धान तथा पक्राउ पुर्जीको प्रसंग उठाउँदै असन्तुष्टि व्यक्त गरे। उनले आफू र पत्नी आरजु राणा देउवामाथि नेपालमा मुद्दा चलाउने प्रयास भएको तथा पक्राउ गर्न खोजिएको दाबी गरे।

देउवाका अनुसार सर्वोच्च अदालतले आफू र आरजुलाई पक्राउ नगर्न आदेश दिए पनि त्यसपछि पनि आफूहरूमाथि ‘बदमासी’ गरिएको थियो। ‘हाम्रो खिलापमा मुद्दा हाल्यो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए, तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ नेपालमा पनि मुद्दा लगाएको छ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो। तैपनि बदमासी गर्‍यो।’

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफू र परिवारमाथि पटक–पटक अनुसन्धान गरेको दाबी गरे। एकपटक अनुसन्धान गरेर केही नभेटिएको भनिए पनि पुनः अनुसन्धान गरिएको भन्दै उनले असन्तुष्टि जनाए।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो, केही छैन भन्यो। उसलाई निकालिदियो। यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ उनले भने।

यद्यपि, आफूले घटनालाई बदलाको भावनाले नहेर्ने देउवाले स्पष्ट पारे। सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत उठाए। आफूलाई असहज अवस्थामा पार्न पूर्वराजाले समेत नसकेको भन्दै उनले अरूले आफूलाई कमजोर बनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न गरे।

‘यो देशमा जनता छ। यो देशमा अदालत छ। सबैले जानेबुझेको छ। राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?’ उनले प्रश्न गरे। देउवाले नेपालमा गणतन्त्र आफ्नो व्यक्तिगत चाहनाले मात्र स्थापना नभएको पनि बताए। संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको उल्लेख गर्दै उनले नेपाली जनतालाई नै सबैभन्दा ठूलो शक्ति भएको बताए। ‘नेपाली जनता सबैभन्दा ठूलो हो। जनता मालिक हो। मालिकले जे भन्यो त्यही हुन्छ,’ उनले भने।

यसैबीच, चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि नेपाली कांग्रेसको सभापतिको हैसियतमा छुट्टै कोठासमेत व्यवस्था गरिएको नेताहरूले बताएका छन्। कांग्रेसको विशेष महाधिवेशन गत पुसमा आयोजना हुँदा देउवा पक्ष भने सहभागी भएको थिएन। स्वदेश फर्किएसँगै देउवा कांग्रेसको आन्तरिक राजनीतिमा पुनः सक्रिय हुने संकेतसमेत देखिएको छ।