काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।
उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेको पिपल म्यागजिनले जनाएको छ।
विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।
रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। रोनाल्डो रियल मड्रिडमा खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन्। पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले यसअघि भोगसँगको अन्तर्वार्तामा बताएकी थिइन्।
एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। सन् २०२२ मा उनीहरूले नवजात छोरालाई गुमाएका थिए।
रोनाल्डोले गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा विश्वकपपछि विवाह गर्ने संकेत दिएका थिए। उनले हाँस्दै भनेका थिए, ‘हामी विश्वकपपछि विवाह गर्ने योजना बनाएका छौँ—ट्रफीसहित।’
यद्यपि, २०२६ को विश्वकपमा पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा पराजित भएपछि रोनाल्डोको विश्वकप करिअर टुंगिएको अनुमान गरिएको छ। प्रतियोगितामा प्रदर्शन अपेक्षाअनुसार हुन नसके पनि उनले लगातार छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका थिए।
४१ वर्षीय रोनाल्डो विश्वकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनी पाँच पटक बालोन डी’ओर विजेता हुन्। इन्स्टाग्राममा उनको ६७ करोड ८० लाखभन्दा बढी फलोअर्स छन्, जसले उनलाई विश्वकै सबैभन्दा बढी फलो गरिएका व्यक्ति बनाएको छ।
३२ वर्षीया जर्जिना भने अहिले मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। रोनाल्डोसँगको सम्बन्धपछि उनको लोकप्रियता निकै बढेको छ। उनी पछिल्ला दुई मेट गाला कार्यक्रममा समेत सहभागी भइसकेकी छन्।
जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। उनले औँलामा लगाएको ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गरेकी थिइन्। हिरा करिब ३० देखि ४० क्यारेटको रहेको र यसको मूल्य ५० लाखदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरिएको थियो।
रोनाल्डोका अनुसार जर्जिनाले ठूलो हिराको औँठी पाउने सपना देखेकी थिइन्। एक दिन उनीहरूले आफ्ना छोरीहरू अलाना र इभासामु औँठी दिएको बेला छोरीहरूले नै ‘ड्याडी, तपाईं आमालाई औँठी दिँदै हुनुहुन्छ, विवाहको प्रस्ताव राख्न लाग्नुभएको हो ?’ भनेर सोधेपछि आफूले त्यही क्षण प्रस्ताव गर्ने निर्णय गरेको रोनाल्डोले बताएका थिए।
उनले घुँडा टेकेर प्रस्ताव गर्नसमेत बिर्सिएको बताएका छन्। रोनाल्डोका अनुसार त्यो क्षण निकै स्वाभाविक र अचानक भएको थियो।
‘राम्रा कुराहरू प्राकृतिक रूपमा आउँछन्—फुटबल, जीवन, अवसर र विवाह’ रोनाल्डोले भनेका थिए।
जर्जिनालाई ठूलो समारोह मन नपर्ने भएकाले विवाह पनि निजी रूपमा गर्ने उनको चाहनालाई आफूले सम्मान गरेको रोनाल्डोले बताएका थिए।
उनका लागि विवाह जीवनको ठूलो परिवर्तन नभई जीवनको एउटा सुन्दर नयाँ अध्याय मात्र हो। ‘हामी विवाह गर्दैछौँ भन्दैमा हाम्रो सम्बन्धमा केही परिवर्तन हुने छैन। यो जीवनको एउटा सुन्दर अध्याय मात्र हो,’ रोनाल्डोले बताएका थिए।










प्रतिक्रिया