नेपाल ल्याइयो थप तीन आरोहीको शव

काठमाडौं। पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।

उनीहरुको शव नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

साउन १४ मा हिमपहिरोमा परेर उनीहरु तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो ।

युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ । निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ । नवाङको शव भने भौगोलिक कठिनाइका कारण संकलन हुन सकेको छैन ।