काठमाडौं। सिरियाको एक अदालतले अपदस्थ राष्ट्रपति बसर अल–असदलाई युद्ध अपराध र मानवताविरुद्धका अपराधमा दोषी ठहराउँदै मृत्युदण्डको सजाय सुनाएको छ।

तर असद अहिले सिरियामा छैनन्। डिसेम्बर २०२४ मा उनको सरकार सत्ताच्युत भएपछि उनी परिवारसहित राजधानी दमास्कसबाट रुसको राजधानी मस्को भागेका थिए। त्यससँगै असद परिवारको पाँच दशकभन्दा लामो शासन अन्त्य भएको थियो।
यही मुद्दामा अदालतले असदका काकाका छोरा तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षा विभागका पूर्वप्रमुख आतिफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ। सजाय सुनाइँदा नजीब अदालतमा पिँजडाभित्र उपस्थित थिए।

दारा क्षेत्रमा नै असद शासनविरुद्ध विद्रोह सुरु भएको मानिन्छ। मार्च २०११ मा सरकारविरोधी नारा लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी कथित रूपमा यातना दिइएपछि त्यहाँ विरोध प्रदर्शन सुरु भएको थियो।
सुरक्षा बलले प्रदर्शनकारीमाथि हिंसात्मक दमन गरेपछि विरोध प्रदर्शन सिरियाभर फैलिएको थियो। पछि यही आन्दोलन गृहयुद्धमा परिणत भयो, जसमा हजारौँ मानिसको मृत्यु भएको थियो।
सिरियाको अन्तरिम सरकारले यस वर्षको सुरुवातमा पाँच दशकभन्दा बढी समय देशमा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि मुद्दा चलाउन सुरु गरेको थियो।
नजीब यस प्रक्रियामा मुद्दाको सामना गर्ने सबैभन्दा वरिष्ठ अधिकारीमध्ये एक हुन्। उनलाई हत्या र ‘मृत्यु निम्त्याउने यातना’ लगायतका विभिन्न अपराधमा दोषी ठहर गरिएको छ।
यद्यपि, सिरियाका नयाँ अधिकारीले मस्कोबाट असदलाई सुपुर्दगी गराउन सक्नेछन् वा छैनन् भन्ने स्पष्ट छैन।
सिरियाको नयाँ नेतृत्वले असदविरुद्ध गरेको यो पहिलो कानुनी कारबाही भने होइन। गत डिसेम्बरमा उनीविरुद्ध हत्या र यातनाको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो। एजेन्सी










प्रतिक्रिया