सरकारले ग¥यो १५ दिनको बम्पर उपहार नतिजा सार्वजनिक

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उपहार पाउनेहरूको नाम सार्वजनिक गरिएको हो ।

जसमा शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार पाएका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ ।

ती उपभोक्ताले साउन ७ गते कञ्चनपुरको पुनर्वास नगरपालिकाको उक्त स्टोरबाट सामान खरिद गरेका थिए । उपहार पाएको रकममा कर कटाएर उपभोक्ताले पाउने विभागका महानिर्देशक भीष्मराज भूसालले जानकारी दिए ।

भूसालका अनुसार अन्य १५ जनालाई एक–एक लाख रुपैयाँको उपहार जितेका छन् । एक लाख नगद उपहार पाउनेहरूको परिचय भने खुलाइएको छैन । उनीहरूको गोपनीयता कायम गर्नका लागि परिचय नखुलाएको महानिर्देशक भूसालले जानकारी दिए ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३र८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार हरेक महिनाको १६ गते ९१ देखि १५ गतेसम्मको० र महिनाको अन्तिम दिन ९१६ गतेदेखि बाँकी दिनको० वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ ।

बैंक तथा वालेटको क्युआर मार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन् । तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ ।

नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्नेछ ।