काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।
निम्सको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो।
उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए भने सिरबाज खानसहित स्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ।
उद्धार अभियान सफल बनाउन सहयोग गर्ने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोग गर्ने सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
कम्पनीले भनेको छ ‘निम्सको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीको उद्धार नभई एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयास हो।’
निम्स, झोङ, निमा र किलुले अब आफ्ना परिवारसम्म अन्तिम यात्राको सुरुआत गर्न पाउने भएकाले केही राहत महसुस भएको कम्पनीले जनाएको छ।
साथै अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था सिर्जना भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता जनाइएको छ।
गत बिहीबार विश्वको १२ औं अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोमा परि १० पर्वतारोही वेपत्ता भएका थिए। उनीहरु सबैको निधन भएको पुष्टि भइसकेको छ।










प्रतिक्रिया