पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सांसदलाई राप्रपाको चेतावनी

काठमाडौंं । राप्रपाले पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठक निर्देशन दिएको छ। राप्रपाको आज बसेको कार्यसम्पादन समिति बैठकले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा नलाग्ने निर्णय गरेको हो। सत्ताको चलखेलमा राप्रपा सामेल नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनले भने– प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।

प्रदेश सरकारका सम्बन्धमा उपयुक्त समयमा पार्टीको निर्देशन दिने उनले बताए।