ब्रड पिकमा ‘निम्सदाइ’को शव फेला

काठमाडौं। चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको हो।

हिमपहिरोमा परेर उनी र उनको टोलीका सदस्यहरूसँग बिहीबार बिहान सम्पर्क टुटेको थियो।

यसअघि शनिबार उनको अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको घोषणा गरेको थियो।

आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएको थियो भने अमेरिकाका एक पर्वतारोहीको भएको विश्वास गरिएको शवका अवशेष पनि फेला परेको एसीपीकी नायला कियानीले पाकिस्तानी मिडिया ‘डनडटकम’लाई बताएकी छन्।

त्यसपछि एसीपीले जारी गरेको विज्ञप्तिमा निम्सदाइको शव पनि फेला परेको पुष्टि गरेको हो।

एसीपीको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ यो जानकारी सेयर गरिरहेका छौँ। स्थलमार्गबाट गएको उद्धार टोली ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निर्मल पुर्जा ‘निम्सदाइ’को शवसम्म पुगेको छ। त्यहाँ थप तीन शव पनि देखिएका छन्, तर तिनीहरूको पहिचान अझै पुष्टि भएको छैन। उद्धार टोलीले शवहरूलाई जापानी शिविरसम्म ल्याउनेछ।’

विज्ञप्तिमा अत्यन्त कठिन भौगोलिक अवस्थाका बीच उद्धार कार्य जारी रहेको उल्लेख गर्दै घटनास्थलबाट प्राप्त विवरण प्रारम्भिक भएकाले थप आधिकारिक पुष्टि नआउन्जेल अपुष्ट सूचना नफैलाउन पनि आग्रह गरिएको छ।