नागढुङ्गा– सिस्नेखोला सुरुङमार्गको उद्घाटन

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि आज उद्घाटन गरिएको हो ।

पहिलो चणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् ।

२०७६ कार्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २।६८ किलोमिटर छ । यसबाहेक २।५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।

काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार र भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।