विराटनगर । सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
दुई समुदायका बीच आइतबार राति भएको झडपपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको बताए । प्रशासनको आदेश अनुसार तोकिएको क्षेत्र र समयभित्र एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला जम्मा हुन पाउने छैनन्।
बोल बम जाने युवाहरूले डिजे बजाएको विषयमा साँझ दुई समूहका बीच विवाद भएको थियो । विवादले उग्र रूप लिएपछि घर तथा सवारी साधनमा तोडफोड भएको थियो । तोडफोड र हिंसापछि प्रहरीले बल प्रयोग गरेको थियो । बल प्रयोगका क्रममा एक जनाको मृत्यु भएको छ । १६ जना भन्दा बढी घाइते भएका छन् ।
प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिए पनि घटना सामान्य भइसकेको छैन । दुवै पक्षका युवा प्रदर्शनमा निस्कने तयारीमा छन् ।











प्रतिक्रिया