२१ हजार घुससहित कामपा ३० का लेखा अधिकृत पक्राउ

काठमाडौँ। घुस रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९एब्ल्० बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई २१ हजार घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई कारबाही गरेको हो।

टोलीले लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट आज नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।