काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।
ओली र दाहालबीच करिब ३ घण्टाभन्दा बढी छलफल भएको नेकपा स्रोतले पुष्टि गरेकाे छ। ओली गुण्डुबाट बाहिर निस्किएर ललितपुरमा उनीहरूबीच भेटघाट भएको थियो।
उनीहरूबीच पार्टी एकतासम्मका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। प्रदेश सरकारमा गठबन्धन गर्नेदेखि स्थानीय तह र प्रदेश सभाको निर्वाचनसम्म सहमति गरेर जाने कुरा भएको छ। नेकपा उच्च स्रोतले भन्यो, ‘उहाँहरूको भेटले वाम गठबन्धन गर्ने विषयमा करिब कुरा मिलेको छ।’
नेकपा स्रोतका अनुसार प्रचण्ड जनकपुरबाट फर्किएपछि यस विषयमा लिखित सहमति हुने छ ।
एमाले सचिव महेश बस्नेतले पनि ओली र प्रचण्डको भेट भएको बताउँदै ‘प्रचण्ड’ले एमालेसँगको सहकार्य प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएको छ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस्। ’
वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने बस्नेतले अपेक्षा गरेका छन्।
कांग्रेस र एमालेको गठबन्धन टुटेपछि एमाले र नेकपा नजिकिएका थिए। नेकपा संयोजक श्रीलंकाबाट आएपछि यसले थप तीव्रता पाएको थियो। प्रचण्डले हिजै सहसंयोजक माधवकुमार नेपाललाई भेटेर यस विषयमा कुरा गरेका थिए। हिजै ओलीसँग प्रचण्डको भेटको तयारी गरिए पनि आज उनीहरूबीच भेटवार्ता भएको हो।
ओलीलाई भेटेर जनकपुर निस्किएका प्रचण्डले जनकपुरधाम विमानस्थलमा आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे।
तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको बताए।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम गएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे।
नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार, साउन ६ गते, पार्टीका संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।









प्रतिक्रिया