काठमाडौं। मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै सन् २०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
यस जितसँगै ‘एटलस लायन्स’ उपनामले परिचित मोरक्को दुई पटकभन्दा बढी विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
साथै, सन् २०२२ मा सेमिफाइनल पुगेपछि मोरक्कोले लगातार दोस्रो संस्करणमा अन्तिम आठमा स्थान बनाएको हो।
सुरुआती समय क्यानडाले दबाब बनाए पनि कुनै टोलीले गोल गर्न सकेन। खेलको ५०औं मिनेटमा मोरक्कोले अग्रता लियो। अशरफ हाकिमीको फ्रिकिकमा बल पाएका ओनाहीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली लेफ्टफुट प्रहार भीड छल्दै पोस्टको तल्लो कुनामा पुगेको थियो।
८२औं मिनेटमा मोरक्कोले आफ्नो अग्रता दोब्बर बनायो। तीव्र प्रतिआक्रमणमा ब्राहिम दियाजको पासलाई ओनाहीले सहजै गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरे।
खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल थप्दै मोरक्कोको शानदार जित सुनिश्चित गरे। रहिमी घाइते भएका इस्माइल साइबारीको स्थानमा २२औं मिनेटमै मैदान प्रवेश गरेका थिए।
अब मोरक्कोले क्वाटरफाइनलमा पाराग्वे र फ्रान्सबीचको विजेतासँग अमेरिकाको बोस्टनमा आगामी बिहीबार प्रतिस्पर्धा गर्नेछ।
यता, प्रतियोगिताको सह–आयोजक क्यानडाको ऐतिहासिक यात्रा भने यहीँ समाप्त भएको छ। क्यानडाले यसअघि अन्तिम ३२ को खेलमा दक्षिण अफ्रिकालाई १–० ले हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणमा जित निकालेको थियो।
तेस्रो पटक मात्र विश्वकप खेलेको क्यानडाले यस संस्करणमा उल्लेखनीय प्रदर्शन गर्दै आफ्ना समर्थकलाई उत्साहित बनाएको थियो।
फिफा विश्व वरीयतामा छैटौं स्थानमा रहेको मोरक्कोले यसअघि अन्तिम १६ मा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको थियो।
क्यानडाले खेलको अन्त्यतिर केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। ७८औं मिनेटमा जोनाथन डेभिडको फ्रिकिक बारमाथिबाट बाहिरियो भने त्यसलगत्तै टेजोन बुकाननको करिब ३० यार्ड टाढाबाट आएको प्रहारलाई गोलकिपर यासिन बोनुले उत्कृष्ट डाइभिङ गर्दै रोकिदिए।
क्यानडामा मोरक्केली अभिभावकका सन्तानका रूपमा जन्मिएका बोनुले खेलभर तीन उत्कृष्ट बचाउ गर्दै क्लिनसिट कायम राखे।
२०२२ को विश्वकपको समूह चरणमा पनि मोरक्कोले क्यानडालाई २–१ ले पराजित गरेको थियो।










प्रतिक्रिया