चेक बाउन्स मुद्दामा फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादरको मुद्दामा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुढानीलकण्ठ १० बाट पक्राउ गरेको हो ।

नेपालविरुद्ध युवराज खत्रीले जाहेरी दिएका थिए । २०७६ सालमा भएको लेनदेनलाई लिएर उनले जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ । जाहेरीमा उल्लेख भए अनुसार खत्रीले नेपाललाई केही रकम ऋण दिएका थिए । उक्त ऋण तिर्न दिएको चेक नसाटिएको खत्रीको भनाइ छ ।

नेपालले भने आफूले पहिल्यै तिरिसकेको ऋणमा झूटो मुद्दा लगाइएको बताएका छन् । खत्रीले आफूलाई मिटर ब्याजमा फसाएर लामो समयदेखि दु:ख दिइरहेको उनको भनाइ छ ।

अपराध अनुसन्धान कार्यालयले भने २०७९ जेठ २५ मा काठमाडौं जिल्ला अदालतले गरेको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको जनाएको छ ।