बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका(३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गर्नुभएकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताए ।
ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् ।
महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताए । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो ।
महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ ।
“पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भने ।
गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले रु २५ लाख लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिए ।
सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताए । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहनुभएकी उनले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राखे ।










प्रतिक्रिया