सातै प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानमा, मधेश प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ विभागले जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ ।