यस्ताे रहन्छ आजकाे माैसम

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।