सरकारले गाडी भाडा बढायाे

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ । विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरिएको जानकारी दिएको हो ।

यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा बुधबारदेखि नै लागू हुने गरी ५ प्रतिशत वृद्धि गरिएको हो ।

डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसामा यही वैशाख ३ मा प्रतिलिटर ५५ रुपैयाँ बढेर औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा कायम हुन आएको र यसरी कायम भएको मूल्यवृद्धि गत चैत २५ मा भएको भाडा समायोजनको समयमा रहेको डिजेलको औसत बजार मूल्यभन्दा ३०.४१ प्रतिशतले वृद्धि भएकोले भाडा बढाउनुपरेको विभागको स्पष्टोक्ति छ ।

भाडा बढाउन १२ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई सैद्धान्तिक सहमति दिएको थियो । यद्यपि विद्युतीय सवारीको हकमा भाडा नबढ्ने विभागले उल्लेख गरेको छ ।