खानेपानीका इन्जिनियरकाे अवैध सम्पत्ति आर्जन गरेकाे भेटेपछि श्रीमतीसहितलाई मुद्दा

काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त हाकिम (आठौँ तह इन्जिनियर) किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख रहेकाे छ । यादव सेवामा प्रवेश गरेको २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिको उनको आयव्यय जाँच गरिएको थियो ।

यस अवधिमा उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ देखिएको छ । तर, सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ खर्च गरेका छन् ।

इन्जिनियर यादवले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ ।