अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमवार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको यो अवधिमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण रहेको मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसिया पनि हेर्ने गरेका छन् ।

राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए । उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो । उनको जन्म भारतमा भएको हो । बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन् ।

तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरिसकेका थिए । नेपालमा एमसीसी लागु गराउनमा उनको ठुलो भूमिका रहेको चर्चा हुने गरेको छ । उनी तत्कालीन अवस्थामा नेपाल आएर उच्च स्तरीय भेटघाट गरेपछि संसदबाट एमसीसी पारित भएको थियो ।

अहिले सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण आउन लागेकोमा त्यसलाई अर्थपूर्ण रूपमा लिएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापक पनि रहिसकेका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्षमा विदेश विभागको नीति योजना टोलीमा सन् २०२०–२१ सम्म पनि काम गरेका थिए । जहाँ उसलाई दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारी दिएको थियो । अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलका प्रध्यापक समेत रही सकेका कपूरलाई पाकिस्तानको कट्टर आलोचक रूपमा विश्लेषण गरिएको थियो तर पछिल्लो समय इरान र अमेरिकाबिच वार्ता गराउनमा पाकिस्तानले गरेको मध्यस्थतामा सहायक विदेशमन्त्री कपुरको भूमिकाको पनि चर्चा हुने गरेको छ ।

विदेश विभागको कर्मचारी रहेकै समयमा उनले दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति, तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन् । उनले विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतंकवाद र क्षेत्रीय सुरक्षा विषयमा अनुसन्धानहरू गरेका छन् ।

दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बिच वर्तमान अवस्थामा नेपालको परराष्ट्र नीति चर्चामा आइरहेको छ । बालेन नेतृत्वको सरकारले कूटनीति क्षेत्रमा चालेको कदमले चर्चा पाएको छ । भ्रमणमा आउन लागेका सहायक विदेशमन्त्री कपुरले क्षेत्रीय स्थिरता, सुरक्षा, र सहकार्यका विषयमा नेपालसँग धारणा आदानप्रदान गर्न बताइएको छ ।

उनले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ । यद्यपि प्रधानमन्त्री बालेनसँग भेटघाट हुने कि नहुने अझै टुगों नलागेको बताइएको छ ।