आरोग्य पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

कृष्ण अधिकारी
वर्तमान सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डासहित नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रय रूपमा चिनाउने योजना अघि सारेको छ । सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि एक सय कार्यसूचीको ७३ नं बुँदामा नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को ‘हब’ बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने उल्लेख गरेको छ । साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकामा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरुलाई धन्यवाद ज्ञापन गरिएको छ । आरोग्य पर्यटनलाई प्रवर्द्धन गर्न ‘नेपाल वेलनेस इयर २०२७’ मनाउन अन्तरनिकाय संयन्त्र बनाउने निर्णयले नेपाललाई आरोग्य पर्यटनको केन्द्रको रुपमा स्थापित गर्न बाटो खुलेको छ ।

औषधि विज्ञानका क्षेत्रमा आज विश्वमा अनेक खोज अनुसन्धानहरुसँगै नयाँनयाँ रोगको सङ्क्रमण पनि उत्तिकै बढ्दै जाँदा आधुनिक चिकित्सा पद्दतिले आम मानिसलाई पूर्ण स्वास्थ्यको सुनिश्चित गर्न सकेको छैन । निदनात्मक उपचार पद्दतिबाट कुनै रोगको उपचार हुन सके पनि त्यसको नकारात्मक असरबाट अर्को स्वास्थ्य समस्या देखिन जाँदा मानिसलाई पूर्ण निरोगी तुल्याउन कठिन भएको छ । वास्तवमा स्वास्थ्यलाई केबल उपचारको विषयका रूपमा मात्र नभई समग्र जीवनशैली र सामाजिक प्रणालीसँग जोडेर हेर्नुपर्ने हुन्छ । मानिसको स्वास्थ्य स्थिति आन्तरिक सन्तुलन, सचेतना, स्वजागरण र आरोग्यबाट सुरु हुन्छ ।

पछिल्लो समय स्वास्थ्यलाई केबल रोग नलाग्नुको अवस्था मात्र नभई समग्र कल्याणको अवस्थाका रूपमा परिभाषित गरेको छ । दिगो र सुदृढ समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा सबैलाई पहुँच हुने समावेशी स्वास्थ्य प्रणाली विकासमा जोड दिन थालिएको छ । यहाँ स्वास्थ्य भन्नाले शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय पक्षसहितको समग्र सन्तुलित अवस्थालाई जनाउँछ । आधुनिक उपचार पद्दतिभन्दा पनि रोग नलाग्ने अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा राख्न पूर्वीय सभ्यतामा आधारित आरोग्यता जरुरत हुने तथ्यलाई विश्वव्यापी रुपमा स्वीकार गर्न थालिएको छ ।

राष्ट्र सङ्घद्वारा नेपालको प्रस्ताव स्वीकार

नेपालले प्रस्ताव गरे अनुसार समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको महासभाले गत मार्च १० मा हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित गरेसँगै देशमा आरोग्य पर्यटन (वेलनेस टुरिजम) प्रवर्द्धनले थप गति लिने विश्वास गरिएकोे छ । यसलाई नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु नै यो दिवसको मुख्य लक्ष्य हो । यसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्नेछ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा आरोग्यको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो प्रस्ताव अघि सारेको हो । महासभाबाट प्रस्ताव पारित भएसँगै आरोग्यसम्बन्धी अवधारणालाई विश्वव्यापी रूपमा संस्थागत गर्ने दिशामा महत्वपूर्ण कदमका रुपमा लिन सकिन्छ । नेपालले प्रस्तुत गरेको अवधारणाले विश्वव्यापी स्वास्थ्य बहसलाई नयाँ आयाम दिने विश्वास गरिएको छ ।

महासभामा प्रस्ताव पारित भएपछि यसले विश्व समुदायलाई स्वास्थ्यप्रति समग्र दृष्टिकोण अपनाउन प्रेरित गरेको छ । साथै, विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । यस प्रस्तावले विश्वभर स्वास्थ्य प्रवर्द्धनका लागि बहुआयामिक दृष्टिकोण अपनाउन मार्गनिर्देशन गर्नुका साथै योग, ध्यान र प्राकृतिक उपचारमा आधारित आरोग्य पर्यटन प्रवर्द्धनमा समेत नेपाललाई महत्वपूर्ण अवसर प्राप्त भएको छ । 

विश्वव्यापी रुपमा आरोग्य पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा प्रवर्द्धन गर्न सकिने र यसबाट नेपाली पर्यटन परिदृश्यको गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ । यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने, पर्यटकको औसत वसाई लम्बिने र पर्यटकको दैनिक खर्चमा समेत वृद्धि भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य सुधार आउने विश्वास गर्न सकिन्छ । स्वास्थ्यलाई बहुआयामिक रूपमा बुझ्ने र त्यसअनुसार नीति तथा कार्यक्रम विकास गर्ने दिशामा यस्तो अन्तर्राष्ट्रिय पहल प्रभावकारी हुन सक्छ ।

आरोग्य पर्यटनको प्रस्तावक राष्ट्रको हैसियतमा विश्व पर्यटन बजारमा नेपाल प्रमुख स्रोत गन्तव्यको रुपमा स्थापित हुने भएकाले नवीन सोच, प्रभावकारी कार्यक्रम र परिणाममुखी व्यवस्थापनमार्फत नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सम्बद्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षको सक्रियता आवश्यक पर्दछ । विशेषगरी स्वास्थ्य सेवामा समान पहुँच, रोगको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा वातावरणीय स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने हुन्छ । यसका लागि सरकार, अन्तर्राष्ट्रिय संस्था तथा समुदायबीच सहकार्य बढाउँदै स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउनु पर्ने हुन्छ । 

आरोग्य पर्यटनको सम्भावना

आरोग्य पर्यटनलाई नेपालले ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सक्ने अवसर रहेको छ । ध्यान, योग र प्राकृतिक चिकित्सासहितको आरोग्य पर्यटनले राष्ट्रिय गौरव जोगाउन र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा सहयोग पुग्नेछ । प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर, परम्परागत चिकित्सा प्रणाली र आध्यात्मिक शक्तिजस्ता आधारहरुले नेपाल आरोग्य पर्यटनका लागि विश्वमै प्रमुख गन्तव्य स्थल बन्न सहयोग पुग्दछ । यहाँको भौगोलिक विविधता, योग र ध्यानको केन्द्र, आयुर्वेदिक जडीबुटी र परम्परागत उपचार पद्धति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदा, स्वच्छ पानी र जैविक खाद्य प्रणाली नै आरोग्य पर्यटनका लागि उपयुक्त आधारहरु हुन् । 

‘आरोग्य नै समृद्धिको आधार हो’ भन्ने लक्ष्यका साथ हाम्रा नीति, योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न सक्दा विश्व समुदायबाट राम्रो लाभ लिन सकिने अवसर रहेको छ । आज विश्वभर आरोग्य उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ । ग्लोबल वेल्नेस इन्स्टिच्युटका अनुसार सन् २०२४ मा विश्व आरोग्य अर्थतन्त्र ६.७६ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन सन् २०१९ को ४.९९ ट्रिलियन डलरको तुलनामा करिब १३४.४ प्रतिशतले बढी हो । सन् २०२९ मा यो ९.७५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यसमा थोरै अंश भए पनि प्राप्त गर्न सक्दा नेपालको समृद्धिमा ठूलो योगदान पुग्दछ ।

आज विश्व आपसी द्वन्द्व, अस्थिर राजनीति र धराशायी अर्थतन्त्रका कारण अशान्त, तनाव र अस्वस्थकर वातावरणमा गुज्रिन बाध्य भइरहेको अवस्थामा संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्तावलाई स्वीकार गरी मानवको समग्र आरोग्य र कल्याणलाई अन्तर्राष्ट्रिय एजेन्डामा स्थान दिनु अत्यन्त प्रेरणादायी र महत्वपूर्ण अवसर हो । नेपालले आरोग्य पर्यटनलाई आफ्नो राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न सकेको अवस्थामा आर्थिक समृद्धि मात्र होइन, विश्वलाई स्वास्थ्य, शान्ति र सन्तुलित जीवनशैली प्रदान गर्ने केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सक्ने अवसर प्राप्त गरेको छ । अन्त्यमा नेपाललाई आरोग्य र आरोग्य पर्यटनको विश्व केन्द्रका रूपमा विकास गर्ने अभियानलाई सरकार, नागरिक समाज र आम नेपाली नागरिकको सामूहिक पहलमा अगाडि बढाउन सकेमा मुलुकको दिगो समृद्धिको र विश्वमा नेपालको बलियो योगदानको मार्गप्रशस्त गर्न सकिन्छ ।

आज नेपाललगायत विश्वभर “हिमालको चेतना, विश्वको आरोग्य” भन्ने नाराका साथ नेपाललगायत संसारभर आरोग्य दिवस मनाइँदैछ । जीवन विज्ञानले लामो समयदेखि नै विश्वभरका मानिसहरूको पूर्ण स्वास्थ्य र समग्र कल्याणका लागि योग, ध्यान र आरोग्यका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । त्यस्तै आरोग्य पर्यटनको क्षेत्रमा कार्य गरिरहेको होटल सङ्घ नेपालले नेपाल सरकारको नेतृत्वमा आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्ने काममा सहकार्य गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज पहिलोपटक मनाउन लागिएको यस दिवसलाई केबल केबल औपचारिक रुपमा मात्रै नभएर मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभर फैलाउने ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ । आरोग्य पर्यटनलाई प्रवर्द्धन गर्न सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ मनाउने निर्णय गरिसकेको सन्दर्भमा स्वदेशभित्रै सबै सरोकारवाला निकायहरुले आवश्यक पूर्वाधार तयार गर्न र विश्वभर प्रचारप्रसार अभियान थालनीको रुपमा प्रतिज्ञा गर्ने क्षणका रुपमा पनि यस दिनलाई लिनुपर्दछ ।