ओलीकाे पित्त थैलीबाट निकालियाे २२ एमएमकाे ढुंगा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकालिएको छ । टिचिङ अस्पतालका डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले केहि बेरअघि ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो ।

ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ । स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।

रास्वपाका बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो । अदालतको आदेशसँगै प्रहरी हिरासतबाट रिहा भए पनि उनी स्वास्थ्य अवस्थाका कारण अस्पतालमै रहेका थिए ।