काठमाडौं । बिचौलिया दिपक भट्ट पक्राउ परेका छन् । विवादास्पद व्यापारी भट्टलाई सम्पत्ति शुद्धीकरण विभागले अध्यागमनको कालोसूचीमा राखेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान गरीरहेको थियो । सबैजसो सरकारका पाला शक्तिको ‘काख’ मा बस्दै आएका भट्टले सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युत्का लाइसेन्समा एकछत्र रजगज गरिरहेका छन् । उनले निश्चित व्यापारीको स्वार्थअनुसार करका दर हेरफेरमै हस्तक्षेप गर्दै आएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अध्यागमन विभागले भट्टलाई सोमबार कालोसूचीमा राखेको थियो । सरकारी निर्णयमै हस्तक्षेप गर्ने पहुँच बनाउँदै आएका भट्ट सुरक्षाकर्मीको हतियार बिक्री गर्ने विदेशी कम्पनीका स्थानीय एजेन्ट पनि हुन् । उनले सुरक्षाकर्मीको हतियार खरिद गर्नका लागि सरकारी अधिकारीलाई प्रभावित गर्न खोजेको भिडियोसमेत सार्वजनिक भइसकेको छ । भिडियोमा भट्टले हतियार खरिद गराउन सरकार, संसद्, विपक्षी दलका नेता, छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी र आवश्यक परे अरू जोकोहीलाई मिलाउने ‘जिम्मा’ लिने दाबी गरेका थिए । ‘मेरो त्यो हैसियत छ, म त्यो गर्न सक्छु’ भन्दै उनले हतियार खरिदको प्रक्रिया अघि बढाउन सरकारी अधिकारीसँग ‘लबिइङ’ गरिरहेको भिडियोमा देखिन्छ ।
भट्ट विरुद्ध जेनजी एलान्यस पनि निरन्तर कारबाहीको माग गर्दै आएको थियो । जेनजी एलान्यसले दीपक भट्ट र उनको समूहले नेपालमा यस्तो भ्रष्टाचार, सेटिङ र नीतिगत लुटपाटको कहालीलाग्दो चक्रव्यूँह चलाएको भन्दै उजुरी गरेका थिए ।
एलायन्सले २७ असोज २०८२ मा प्रधानमन्त्री सुशिला कार्कीज्यू, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा एक साथ उजुरी दिएको थियो ।
दीपक भट्ट र उनको समूहले नेपालको सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिमा सेटिङ, जलस्रोत क्षेत्रमा सेटिङ, विमा क्षेत्र तथा वित्तिय क्षेत्रमा सेटिङ, नेपालको प्रहरी र सार्वजनिक प्रशासन क्षेत्रमा सेटिङ गरेर देशलाई १० खर्बभन्दा बढी हानी नोक्सानी गरेको तथ्य पेश गरेका थिए । उनले भ्रष्टाचारका लागि ३ सय नीतिगत निर्णय गराएको आरोप छ । उनले एक सय जना भन्दा बढी कर्मचारी आफ्नो सेटिङमा राखेका दाबी छ । यसबाट उनले करिब १० खर्ब गैरकानुनी रुपमा सम्पति आर्जन गरेका उसको आरोप छ ।
विवादास्पद व्यापारी भट्ट इन्फिनिटी होल्डिङस्का प्रमुख हुन् । ‘सत्ता–शक्ति’मा रहेका दलका नेता, सार्वजनिक ओहोदाधारी पदाधिकारी तथा कर्मचारीलाई ‘हातमा लिएर’ ठूला सार्वजनिक खरिदका ठेक्का, जलविद्युत्, बैंक/बिमालगायत कम्पनीका लाइसेन्स हात पार्नेदेखि वार्षिक बजेटमा समेटिने करका दर हेरफेरसम्मका संदिग्ध गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लाग्दै आएको छ । भट्ट प्रमुख रहेको इन्फिनिटी होल्डिङस् र त्यसमार्फत शंकास्पद कारोबार गरेका विवरणहरू फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए ।










प्रतिक्रिया