सर्बोच्चलाई भोलीदेखि सपनाले चलाउने

काठमाडौं । भोलीदेखि सर्वोच्च अदालतको नेतृत्व सपना प्रधान मल्लले गर्ने भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको आजदेखि अवकास हुनेभएसँगै सर्वोच्चको वरिष्ठतम न्यायाधीश मल्लले भोली(बुधबार)देखि कामु प्रधानन्यायाधीशका रुपमा काम गर्ने भएकी हुन् ।

राउतको आजै विदाई कार्यक्रम तय भएको छ । राउत न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका हुन् । राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । त्यसको ८ वर्ष पहिले उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी वरिष्ठ अधिवक्ता थिए ।

सर्वोच्चको नेतृत्व गर्ने सपना दोस्रो महिला न्यायाधीश हुन् । यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।

सपनाले तत्काललाई भने कामु प्रधानन्यायाधीशका रुपमा काम गर्नेछिन् । प्रधानन्यायाधीश नियुक्तीका लागि न्यायापरिषद्को बैठकले उनीसहित ६ जना न्यायाधीशको नाम सिफारिसस गरिसकेको छ ।

तर अहिले संवैधानिक परिषद्मा सदस्यहरु रिक्त रहेकाले तत्कालै प्रधानन्यायाधीश नियुक्तीको संभावना भने छैन । प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेन व्यवस्था छ । हाल यी मध्ये प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष मात्रै छन् ।